Section 70
गाभ्न वा गाभिन वा प्राप्ति गर्न निवेदन दिनु पर्ने
(१) कुनै बैंक वा वित्तीय संस्था अर्को बैंक वा वित्तीय संस्थामा गाभ्न वा गाभिन चाहेमा गाभ्न वा गाभिन चाहने दुई वा सो भन्दा बढी बैंक वा वित्तीय संस्थाले आ–आफ्नो सञ्चालक समितिबाट निर्णय गरी सैद्धान्तिक सहमतिका लागि देहायका कुरा खुलाई राष्ट्र बैंकमा संयुक्त रुपमा निवेदन दिनु पर्नेछः– (क) बैंक वा वित्तीय संस्था गाभ्नु, गाभिनुको आवश्यकता तथा औचित्य, सोबाट बैंकिङ्ग तथा वित्तीय क्षेत्र र वित्तीय प्रणालीमा पर्ने असरको सामान्य प्रक्षेपण, (ख) गाभ्ने वा गाभिने बैंक वा वित्तीय संस्थाको पछिल्लो आर्थिक वर्षको लेखापरीक्षण भएको वासलात, नाफा–नोक्सान हिसाब र नगद प्रवाह विवरण, खुद सम्पत्ति लगायतको वित्तीय विवरण सहितको लेखापरीक्षकको प्रतिवेदन, (ग) गाभ्ने वा गाभिने बैंक वा वित्तीय संस्थाले कर्जा लिएका साहुहरुको हित सुरक्षार्थ गरिएको व्यवस्था, (घ) गाभिने बैंक वा वित्तीय संस्थाको चल अचल सम्पत्ति र दायित्वको भुक्तानी अवधि सहितको यथार्थ विवरण, (ङ) गाभ्ने वा गाभिने बैंक वा वित्तीय संस्थाका कर्मचारीको व्यवस्थापनको विवरण, (च) गाभ्ने वा गाभिने प्रयोजनको लागि प्रचलित कम्पनी तथा धितोपत्र सम्बन्धी कानून बमोजिमको स्वीकृति प्रक्रिया, (छ) संस्थाहरुले गाभ्ने, गाभिने सम्बन्धी गरेको प्रारम्भिक सम्झौतापत्र, (ज) राष्ट्र बैंैंकले तोकेको अन्य विषय । (२) कुनै बैंक वा वित्तीय संस्थाले अर्को बैंक वा वित्तीय संस्था प्राप्ति गर्न चाहेमा सम्बन्धित दुई वा सो भन्दा बढी बैंक वा वित्तीय संस्थाले आ–आफ्नो साधारण सभाको विशेष प्रस्ताव बमोजिम आ–आफ्नो सञ्चालक समितिबाट निर्णय गरी सैद्धान्तिक सहमतिका लागि देहायका विषय खुलाई राष्ट्र बैंकमा संयुक्त रुपमा निवेदन दिनु पर्नेछः– (क) बैंक वा वित्तीय संस्था प्राप्तिको आवश्यकता तथा औचित्य, सोबाट बैंकिङ्ग तथा वित्तीय क्षेत्र र वित्तीय प्रणालीमा पर्ने असरको सामान्य प्रक्षेपण, (ख) मूल संस्था तथा लक्षित संस्थाको पछिल्लो आर्थिक वर्षको लेखापरीक्षण भएको वासलात, नाफा–नोक्सान हिसाब र नगद प्रवाह विवरण, खुद सम्पत्ति लगायतको वित्तीय विवरण सहितको लेखापरीक्षकको प्रतिवेदन, (ग) मूल संस्था तथा लक्षित संस्थाका कर्मचारीको व्यवस्थापनको विवरण, (घ) प्रचलित कम्पनी तथा धितोपत्र सम्बन्धी कानून बमोजिमको स्वीकृति प्रक्रिया, (ङ) बैंक वा वित्तीय संस्था प्राप्ति सम्बन्धी गरेको प्रारम्भिक सम्झौतापत्र, (च) राष्ट्र बैंकले तोके बमोजिमका अन्य विषय । (३) उपदफा (१) वा (२) बमोजिम प्राप्त निवेदन उपर राष्ट्र बैंकले आवश्यक जाँचबुझ गर्नेछ र त्यस्तो जाँचबुझको सिलसिलामा राष्ट्र बैंकले आवश्यकता अनुसार निवेदकसँग छलफल गर्न र थप कागजात समेत माग गर्न सक्नेछ । (४) उपदफा (३) बमोजिम गरिएको जाँचबुझबाट बैंक वा वित्तीय संस्था गाभ्दा वा गाभिदा वा बैंक वा वित्तीय संस्था प्राप्ति गर्दा राष्ट्रको बैंकिङ्ग तथा वित्तीय प्रणालीको विकास, स्वच्छ प्रतिस्पर्धा तथा प्रचलित कानूनको पालनामा कुनै पनि किसिमको नकारात्मक असर पर्ने छैन भन्ने कुरामा राष्ट्र बैंक सन्तुष्ट भएमा त्यस्तो बैंक वा वित्तीय संस्थालाई गाभ्ने वा गाभिने वा बैंक वा वित्तीय संस्था प्राप्ति गर्ने प्रक्रिया अगाडि बढाउन सैद्धान्तिक सहमति दिन सक्नेछ र यसरी सहमति दिँदा राष्ट्र बैंकले शर्त तोक्न वा निर्देशन दिन समेत सक्नेछ ।